काठमाडौँ । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित प्रभाव देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यसकै कारण कोशी , मधेश र बागमती प्रदेश लगायत देशका अधिकांश पहाडी र हिमाली भू-भागमा अहिले साधारणतया बदली भएको छ । कोशी र मधेशका केही स्थानहरू तथा बागमती र गण्डकीका थोरै क्षेत्रमा मध्यम वर्षा र हिमपात भइरहेको छ ।
आज दिउँसो पनि पहाडी र हिमाली भेगमा मौसम बदली रहने र केही स्थानहरूमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा समेत हल्का वर्षा हुन सक्ने मौसमविद्हरूले अनुमान गरेका छन् । तराईका बाँकी भागमा भने मौसम आंशिक बदली रहनेछ ।
रातीको समयमा पहाडी र हिमाली क्षेत्रमा बादल लागे पनि तराईको मौसम मुख्यतया सफा रहने देखिएको छ । यद्यपि , कोशी र गण्डकी प्रदेशका केही पहाडी र हिमाली क्षेत्रमा राती पनि हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने भएकाले चिसोबाट बच्न र आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।



