काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपालको वैदेशिक व्यापारमा सुधार र चुनौती दुवै देखिएको छ।
भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार निर्यातमा उत्साहजनक वृद्धि देखिए पनि बढ्दो आयातका कारण व्यापार घाटा भने चुलिँदै गएको छ।
यस आर्थिक वर्षको फागुन मसान्तसम्ममा नेपालको निर्यात २०.८३ प्रतिशतले बढेर १ खर्ब ९१ अर्ब ११ करोड २० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँ बराबरको मात्र निर्यात भएको थियो।
यद्यपि, सोही अवधिमा आयात पनि १२.५४ प्रतिशतले बढेर १२ खर्ब ८९ अर्ब २५ करोड २ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँको आयात भएको थियो। कुल वैदेशिक व्यापार १३.५५ प्रतिशतले बढेर १४ खर्ब ८० अर्ब ३६ करोड रुपैयाँ पुगेको छ।
आयातको तुलनामा निर्यातको हिस्सा निकै सानो भएकाले व्यापार घाटा ११.२२ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको आठ महिनामा व्यापार घाटा १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ९ खर्ब ८७ अर्ब ३९ करोड रुपैयाँ थियो।
तर, एउटा सकारात्मक पक्ष भनेको आयात–निर्यात अनुपातमा देखिएको सुधार हो। गत वर्ष निर्यातको तुलनामा आयात ७.२४ गुणा रहेकोमा यस वर्ष सुधार भएर ६.४१ गुणामा झरेको छ।
नेपालबाट बाहिरिने ठुलो रकम अझै पनि इन्धन खरिदमै खर्च भइरहेको छ। विभागका अनुसार पछिल्लो आठ महिनामा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ :
-
डिजेल: ८२ अर्ब १० करोड ५१ लाख रुपैयाँ
-
पेट्रोल: ४३ अर्ब ८९ करोड ७३ लाख रुपैयाँ
-
एलपी ग्यास: ३७ अर्ब ३१ करोड ३७ लाख रुपैयाँ


