काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
अहिले कोशी, मधेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहेको छ। विभागका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात भइरहेको छ। बाँकी भू-भागमा भने आंशिक बदलीको अवस्था छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना छ। अन्य प्रदेशका पहाडी भू-भागमा पनि थोरै स्थानमा वर्षा हुन सक्नेछ। तराईका भू-भागमा आंशिक बदली रहनेछ। तर, कोशी प्रदेशको तराईका एक-दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ।
राति देशका हिमाली भू-भागमा साधारणतया बदली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ। तराईमा भने मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। कोशी, गण्डकी र कर्णालीका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा राति पनि मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।



