काठमाडौँ। कोलम्बियामा वायुसेनाको हरक्यूलिस सी–१३० विमान दुर्घटना हुँदा ३४ जना सैनिकको मृत्यु भएको छ। उडान भर्ने क्रममा भएको यस भयावह दुर्घटनामा परी ७० भन्दा बढी सैनिक घाइते भएका छन् ।
कोलम्बियाली वायुसेनाका प्रमुखका अनुसार विमानमा ११४ सैनिक र ११ जना चालक दलका सदस्य गरी कुल १२५ जना सवार थिए । पेरूको सिमाना नजिकै रहेको दक्षिणी अमेजन क्षेत्रको प्यूर्टो लेगुइजामोमा यो दुर्घटना भएको हो। रक्षा मन्त्रालयका अनुसार विमान रनवेबाट करिब डेढ किलोमिटर टाढा खसेको थियो ।
घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै कोलम्बियाका राष्ट्रपति गुस्तावो पेट्रोले सैनिकहरूको सुरक्षामा कुनै सम्झौता नगर्ने बताउनुभएको छ । उहाँले सेनालाई आधुनिक उपकरण र स्रोतसाधनले सुसज्जित बनाउने निर्णय पहिले नै भए पनि प्रशासनिक ढिलाइका कारण कार्यान्वयन हुन नसकेकोमा आक्रोश पोख्नुभयो ।
राष्ट्रपति पेट्रोले चेतावनी दिँदै भन्नुभयो—”आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने र ढिलासुस्ती गर्ने अधिकारीहरूलाई पदबाट हटाइनेछ ।” उहाँले नयाँ हेलिकोप्टर, यातायात विमान र आधुनिक सुरक्षा प्रणाली तत्काल खरिद गर्न निर्देशन समेत दिनुभएको छ ।
के हो हरक्यूलिस सी–१३० विमान?
दुर्घटनामा परेको हरक्यूलिस सी–१३० विश्वकै सबैभन्दा भरपर्दो सैन्य यातायात विमानमध्ये एक मानिन्छ । यसको प्रयोग विशेष गरी:
- सैनिक, हतियार र ठुला राहत सामग्री ओसारपसार गर्न ।
- प्राकृतिक विपद् र स्वास्थ्य आपत्कालमा दुर्गम क्षेत्रमा सामान पुर्याउन ।
- कठिन भूगोल र छोटा रनवेमा पनि उडान र अवतरण गर्न सक्ने क्षमताका कारण यो प्रसिद्ध छ ।
यस्तो भरपर्दो मानिने विमान कसरी दुर्घटनामा पर्यो भन्ने विषयमा उच्चस्तरीय छानबिन सुरु गरिएको छ ।



