काठमाडौँ । निर्वाचनपछिको नयाँ प्रतिनिधिसभाले आज आफ्नो औपचारिक कार्यभारको पहिलो खुड्किलो पार गर्दैछ ।
सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा आज दिउँसो २ बजे नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम तय गरिएको छ ।
सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बाँकी २७४ जना सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ । ज्येष्ठ सदस्य केसीले यसअघि नै बुधबार राष्ट्रपति रामचन्द्र पौडेलबाट आफ्नो शपथ लिइसक्नुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को कानुनी व्यवस्था अनुसार कुनै पनि सदस्यले संसद् वा समितिको बैठकमा सहभागी हुनुपूर्व अनिवार्य रूपमा शपथ लिनुपर्ने हुन्छ । गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सांसदहरू चुनिएका हुन् ।



