काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो आन्तरिक साङ्गठनिक प्रक्रिया अघि बढाउने भएको छ ।
यसै सन्दर्भमा, संसदीय दलको नेता चयनका लागि पार्टीको केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।
पार्टीका सहमहामन्त्री विपिन आचार्यका अनुसार , यस बैठकको मुख्य एजेन्डा वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेतामा निर्वाचित गर्ने रहेको छ । रास्वपाले भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको क्रममा शाहलाई नै भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्तुत गरेको थियो ।
आजको बैठकले सोही रणनीतिक योजनालाई वैधानिक रूप दिँदै संसदीय दलको नेतृत्वको जिम्मेवारी बाँडफाँट गर्ने अपेक्षा गरिएको छ ।



