काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै सरकारले प्रतिशोधको राजनीति सुरु गरेको आरोप लगाएका छन् ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेको सन्दर्भमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै साम्पाङले वर्तमान अवस्थाले मुलुकलाई थप द्वन्द्वतर्फ धकेल्ने संकेत गरेका हुन् ।
उनले आफूले निर्वाचनका क्रममा नै अन्य शक्तिहरू सत्तामा आए प्रतिशोधको खेल सुरु हुने भविष्यवाणी गरेको स्मरण गराएका छन् । ओखलढुङ्गाको एक कार्यक्रममा आफूले बोलेका कुरा अहिले चरितार्थ भएको दाबी गर्दै उनले प्रगतिका लागि ‘श्रम संस्कृति’ नै एक मात्र विकल्प भएको उल्लेख गरे ।
साम्पाङका अनुसार अबको राजनीति केवल आन्दोलन र दाउपेचमा मात्र सिमित हुने देखिन्छ, जसले देशको विकासमा बाधा पुर्याउनेछ ।



