काभ्रे । बिपी राजमार्गको रोशी खोला क्षेत्रमा गएराति आएको आकस्मिक बाढीले निर्माणाधीन अस्थायी डाइभर्सनमा व्यापक क्षति पुर्याएपछि सडक सञ्चालन पूर्ण रूपमा बन्द भएको छ ।
गत वर्षको विनाशकारी बाढीपछि पुनर्निर्माणको चरणमा रहेको यस खण्डमा यातायात सुचारु गर्न बनाइएका अस्थायी संरचनाहरू बाढीले बगाएको हो ।
बाढीका कारण काठमाडौंबाट पूर्वी नेपालतर्फ प्रस्थान गर्ने र राजधानी भित्रिने सवारी साधनहरू बीच बाटोमै रोकिएका छन् । स्थानीय बासिन्दा राज मैनालीका अनुसार रोशी खोलाको सतह अचानक बढेर डाइभर्सन बगाउँदा सयौँ यात्रुहरू अलपत्र परेका हुन् । विशेषगरी रामेछापको निर्वाचन क्षेत्र ‘ख’ जोड्ने मुख्य नाका नेपालथोक-खैरेनीघाट पुल नजिकैको अस्थायी मार्ग समेत बाढीले सोहोरेपछि उक्त क्षेत्रको सम्पर्क विच्छेद भएको छ ।
सडक विभाग र सम्बन्धित निकायले क्षतिको विवरण संकलन गरिरहेको र पानीको सतह घटेलगत्तै मर्मत सुरु गरी यातायात पुनः सञ्चालन गर्ने तयारी थालिएको जानकारी दिएका छन् ।



