काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउले मुलुकको राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ ।
एमाले महासचिव शंकर पोखरेलले अध्यक्ष ओलीलाई हिरासतमा लिने सरकारको कदमप्रति कडा आपत्ति जनाउँदै यसको परिणाम सरकारका लागि निकै महँगो सावित हुने चेतावनी दिनुभएको छ । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले वर्तमान सरकार पूर्वाग्रह र प्रतिशोधको राजनीतिमा उत्रिएको आरोप लगाउनुभएको छ । उहाँले जिम्मेवार बन्न आग्रह गर्दै ओलीलाई अविलम्ब रिहा गर्न माग समेत गर्नुभएको छ ।
यसैबीच, अध्यक्ष ओली पक्राउ परेपछि नेकपा एमाले देशव्यापी आन्दोलनमा होमिने तयारीमा जुटेको छ । भावी रणनीति र आन्दोलनका कार्यक्रमहरू तय गर्न केही समयमै पार्टीको सचिवालय बैठक बस्न लागेको सचिव महेश बस्नेतले जानकारी दिनुभएको छ ।



