काठमाडौँ । प्रहरी नियन्त्रणमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आज अदालत उपस्थित गराइँदैछ । शनिबार पक्राउ परेका दुवै नेतालाई जिल्ला अदालत काठमाडौँमा पेस गर्न लागिएको हो ।
कानुनी प्रक्रिया अनुसार प्रहरीले हिरासतमा राखेर अनुसन्धान गर्न सरकारी वकिल कार्यालयमार्फत अदालतसँग अनुमति माग्नेछ । यदि अदालतले म्याद थपको अनुमति दिएमा उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइनेछ भने अनुमति नदिएको खण्डमा आजै रिहा हुने सम्भावना रहन्छ । प्रहरीले अनुसन्धानका लागि अधिकतम २५ दिनसम्म म्याद थप गर्न पाउने कानुनी प्रावधान छ ।
अनुसन्धान सकिएपछि प्रहरीले रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउनुपर्ने हुन्छ । त्यसपछि मात्रै मुद्दा चलाउने वा नचलाउने र कुन सजाय माग दाबी गर्ने भन्ने निर्णय हुनेछ । अर्कोतर्फ, जिल्ला अदालतले म्याद थप गरे पनि उनीहरूका पक्षबाट सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्न सक्ने विकल्प खुला छ । सर्वोच्चले रिहा गर्ने आदेश दिएमा उनीहरू छुट्न सक्छन्, यद्यपि त्यस्तो अवस्थामा पनि अनुसन्धान प्रक्रिया भने रोकिने छैन ।



