काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा उनीहरूका परिवारमाथि अनुसन्धानको प्रक्रियालाई तीव्र बनाएको छ ।
जेन-जी आन्दोलनका क्रममा गठित जाँचबुझ आयोगको सिफारिस बमोजिम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि अब अनुसन्धानको घेरा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको परिवारतर्फ मोडिएको छ । विशेषगरी सम्पत्ति शुद्धीकरणको मुद्दामा नेपाली कांग्रेसका नेता दीपक खड्काको पक्राउले देउवा दम्पतीमाथि पनि छानबिन सुरु हुने सम्भावना बलियो बनाएको स्रोतले जनाएको छ ।
अहिले देउवा दम्पती वैदेशिक भ्रमणका क्रममा नेपाल बाहिर रहेका छन् । निर्वाचन अघि सिङ्गापुर गएका उनीहरू हालै हङकङ आइपुगेका थिए र केही दिनमा स्वदेश फर्किने तयारीमा थिए । तर नेपालमा नेताहरू धमाधम पक्राउ पर्न थालेपछि उनीहरूको पुनरागमन केही अनिश्चित बनेको देखिन्छ । यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा देउवामाथि छानबिनको प्रयास भए पनि अहिले भने सम्पत्ति शुद्धीकरणको पाटोबाट सूक्ष्म अनुसन्धान थालिएको बुझिएको छ ।
गत भदौ २४ गतेको आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित देउवा निवासमा भएको आगजनी र लुटपाटपछि त्यहाँ ठुलो परिमाणमा नगद फेला परेको र केही जलेको अवस्थामा रहेको दाबी गरिएको छ । उक्त घर भत्काउने प्रक्रिया अघि बढे पनि प्रमाण नष्ट हुन सक्ने भयले अहिले त्यसलाई रोकिएको छ । सरकारले वि.सं. २०४८ सालयताका सबै नेता र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न एक अधिकारसम्पन्न समिति गठन गर्ने निर्णय गरिसकेको छ, जसले दुई चरणमा रहेर विगत तीन दशकको आर्थिक विवरणको लेखाजोखा गर्नेछ ।



