काठमाडौँ । सम्पत्ति शुद्धीकरणको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएका नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई स्वास्थ्यमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ ।
आइतबार बिहान पक्राउ परेका खड्कालाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखिएकोमा गएरातिदेखि स्वास्थ्य अवस्था बिग्रिएको प्रहरी स्रोतले जनाएको छ ।
हिरासतमा रहेकै समयमा उनलाई लगातार वान्ता हुने समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको हो । यसअघि जिल्ला अदालतले उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिइसकेको छ । हाल उनी चिकित्सकको प्रत्यक्ष निगरानीमा अस्पतालमै रहेका छन् ।



