काठमाडौँ । संघीय संसद्को नयाँ अधिवेशन सुरु हुने भएपछि त्यसको पूर्वतयारीका लागि संसद् सचिवालयले आज सर्वदलीय छलफल आयोजना गरेको छ ।
निर्वाचनपछि संसद्को पहिलो बैठक बस्न लागेकाले प्रक्रियागत र प्राविधिक तयारीका विषयमा सहमति जुटाउन संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई दिउँसो १ बजे बैठकमा डाकिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा आगामी चैत १९ गते दिउँसो २ बजेका लागि दुवै सदनको अधिवेशन आह्वान गरिसक्नुभएको छ । सोही ऐतिहासिक बैठकको कार्यसूची तय गर्न र व्यवस्थापकीय पाटो मिलाउन प्रवक्ता एकराम गिरीले दलका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको जानकारी दिनुभयो ।
अधिवेशनको पहिलो बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने र तीनवटा महत्वपूर्ण अध्यादेशहरू टेबुल गर्ने सम्भावित एजेण्डा तय गरिएको छ । यसका साथै संसद् सञ्चालनका लागि अनिवार्य मानिने नियमावली र कार्यव्यवस्था परामर्श समिति गठन नभइसकेको अवस्थामा सर्वदलीय बैठकले नै प्रारम्भिक कार्यतालिकाको रूपरेखा तयार पार्नेछ ।
संवैधानिक प्रावधानअनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको चयन गरिसक्नुपर्ने बाध्यता रहेकाले निर्वाचन प्रक्रियालाई कसरी अगाडि बढाउने भन्ने विषयले आजको छलफलमा प्राथमिकता पाउने देखिएको छ ।
हालै सम्पन्न निर्वाचनपछि संसद्को शक्ति सन्तुलनमा पनि फेरबदल आएको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दलको रूपमा उदाएको छ भने नेपाली कांग्रेस र नेकपा एमाले क्रमशः दोस्रो र तेस्रो स्थानमा खुम्चिएका छन् । नेकपा (कम्युनिस्ट पार्टी) र नयाँ शक्तिका रूपमा आएको श्रम संस्कृति पार्टीले पनि संसद्मा आफ्नो बलियो उपस्थिति देखाएका छन् ।
यसपटक ६ वटा दलले राष्ट्रिय दलको मान्यता प्राप्त गरेका छन् । संसद् सञ्चालनका लागि सिंहदरबारस्थित निर्माणाधीन भवनका केही संरचनाहरू अझै पूर्ण नभएकाले सञ्चारकर्मी र दर्शकको व्यवस्थापनमा केही चुनौती देखिए पनि सचिवालयले सबै तयारीलाई तीव्र पारेको छ ।



