काठमाडौँ । हवाई यात्रा गर्ने यात्रुहरूका लागि अब यात्रा केही महँगो हुने भएको छ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा उल्लेख्य वृद्धि गर्ने निर्णय गरेसँगै यस्तो अवस्था आएको हो। निगम सञ्चालक समितिको पछिल्लो निर्णयअनुसार आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १ सय २४ रुपैयाँले बढोत्तरी गरिएको छ । यसअघि प्रतिलिटर १ सय २७ रुपैयाँ रहेको इन्धनको मूल्य अब २५१ रुपैयाँ कायम भएको छ ।
आन्तरिक उडान मात्र नभई अन्तर्राष्ट्रिय उडानतर्फ प्रयोग हुने इन्धनको मूल्यमा पनि ठूलो वृद्धि देखिएको छ । अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर ८ सय १९ अमेरिकी डलरले मूल्य बढाइएको छ ।
यसअघि काठमाडौँमा प्रति किलोलिटर ९ सय ६६ डलर रहेको मूल्य अब वृद्धिपछि १ हजार ७ सय ८५ अमेरिकी डलर पुगेको छ । हवाई इन्धनको मूल्य आकासिए पनि आम सर्वसाधारणले दैनिक प्रयोग गर्ने पेट्रोल, डिजल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको निगमले स्पष्ट पारेको छ ।
अर्को पटक मूल्य समायोजन नभएसम्म यी वस्तुहरू पुरानै दरमा उपलब्ध हुनेछन् ।



