काठमाडौँ । रूसी सैन्य विमान एन-२६ दुर्घटना हुँदा त्यसमा सवार सबै २९ जनाको ज्यान गएको छ । रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै राज्य नियन्त्रित सञ्चारमाध्यमहरूले दिएको जानकारी अनुसार नियमित उडानमा रहेको सो विमान अचानक सम्पर्कविहीन भएपछि खोजी गर्दा भग्नावशेष फेला परेको हो ।
विमानमा चालक दलका ६ सदस्य र २३ जना यात्रु गरी कुल २९ जना सवार थिए । बीबीसीका अनुसार दुर्घटनामा कोही पनि जीवित भेटिने सम्भावना नरहेको प्रारम्भिक अध्ययनले देखाएको छ । प्राविधिक त्रुटिका कारण विमान चट्टानमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । रक्षा मन्त्रालयले यस घटनामा कुनै बाह्य आक्रमण, मिसाइल, ड्रोन वा चराको संलग्नता नरहेको स्पष्ट पारेको छ ।
रूसी समाचार संस्था टासका अनुसार मङ्गलबार स्थानीय समय अनुसार साँझ ६ बजे विमानसँगको रेडियो सम्पर्क टुटेको थियो । सोभियत युनियनको पालामा युक्रेनी कम्पनी एन्टोनोभले निर्माण गरेको एन-२६ विमान मुख्य गरी सैन्य सामग्री र थोरै संख्यामा यात्रु ओसार्न प्रयोग गरिन्छ । सन् १९६० को दशकदेखि सञ्चालनमा रहेका यस्ता विमानहरू यसअघि पनि पटक-पटक गम्भीर दुर्घटनामा परेका तथ्याङ्क छन् ।
सन् २०१४ मा रूसले युक्रेनबाट आफ्नो नियन्त्रणमा लिएको क्रिमिया क्षेत्र अहिले सैन्य द्वन्द्वको केन्द्र बनेको छ । युक्रेनले यस क्षेत्रमा रहेका रूसी सैन्य अखडालाई लक्षित गरी निरन्तर आक्रमण गर्दै आएको छ भने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति स्थापनाका लागि रूसले क्रिमिया छाड्नुपर्ने अडान राख्दै आएका छन् ।



