काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले आफ्नो सेवा प्रवाहलाई थप व्यवस्थित र अनुशासित बनाउन कर्मचारीको हाजिरी प्रणालीमा नयाँ नियम लागू गरेको छ ।
अस्पताल व्यवस्थापन समितिको पछिल्लो बैठकले चिकित्सकदेखि प्रशासनिक कर्मचारीसम्मलाई तोकिएको समयमा अनिवार्य उपस्थित हुन निर्देशन दिँदै ढिला सुस्ती गर्नेमाथि कारबाहीको नीति अख्तियार गरेको हो ।
नयाँ व्यवस्था अनुसार अब कुनै पनि कर्मचारी कार्यालय समयभन्दा ढिलो आएमा त्यसको स्पष्ट कारणसहित आफ्नो विभाग वा समूहमा जानकारी गराउनुपर्नेछ । यदि निर्धारित समय पूरा नभएमा सम्बन्धित कर्मचारीको आधा दिनको बिदा कट्टी गरिने अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका निर्देशक डा. दिलीप शर्माका अनुसार वैशाख १ गतेदेखि लागू हुने गरी कार्यालय समय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म तय गरिएको छ । जाडोयाम (कात्तिक १५ देखि माघ १५ सम्म) मा भने बिहान १० देखि ४ बजेसम्मको समय कायम हुनेछ ।
अस्पतालको समग्र सेवामा सुधार ल्याउन र अनुशासन कायम गर्न व्यवस्थापनले कूल १४ वटा बुँदामा महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।



