काठमाडौँ । मुलुकको विभिन्न क्षेत्रमा अहिले पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै असरले गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा बादल लागेको छ भने बाँकी स्थानको मौसम सफादेखि आंशिक बदलीको अवस्थामा छ ।
आज दिउँसो पहाडी र हिमाली भेगमा मौसममा केही फेरबदल आउने देखिएको छ । विशेषगरी गण्डकी र कर्णालीका हिमाली क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ । यस्तै अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा पनि छिटपुट वर्षा हुनसक्ने अनुमान गरिएको छ । तराईका जिल्लाहरूमा भने आज दिउँसो हावाहुरी चल्ने सम्भावना रहेकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ ।
रातिको समयमा पनि गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णालीका उच्च भेगमा हल्का वर्षा र हिमपातको क्रम जारी रहने देखिन्छ । आगामी केही दिन पहाडी र हिमाली क्षेत्रमा मौसम प्रतिकूल रहने तथा तराईमा हुरी चल्ने प्रक्षेपण गरिएको हुँदा सर्वसाधारणलाई सतर्कता अपनाउन र पछिल्लो मौसमी जानकारी लिइरहन मौसमविद्हरूले सुझाव दिएका छन् ।



