टीकापुर । कैलालीको टीकापुर नगरपालिकाले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकहरूलाई लक्षित गर्दै उनीहरूकै आँगनमा उपचार सेवा पुर्याउन थालेको छ ।
चालू चैत महिनादेखि नगरपालिकाले हरेक वडामा दुई-दुई जना स्वास्थ्यकर्मी खटाएर ७० वर्ष कटेका ज्येष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने अशक्त र अपांगता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण सुरु गरेको हो ।
नगरपालिकाका जनस्वास्थ्य निरीक्षक केवल सिंह सार्कीका अनुसार यो अभियान अन्तर्गत स्वास्थ्यकर्मीहरूले महिनाको चार दिन प्रत्यक्ष रूपमा समुदायका घर-घरमा पुगेर सेवा दिनेछन् । उनीहरूले बिरामीको स्वास्थ्य जाँच गर्ने, दीर्घ रोगहरूको पहिचान गर्ने, आवश्यक परामर्श दिने र नि:शुल्क औषधि समेत वितरण गर्ने कार्यतालिका बनाएका छन् । विशेषगरी उच्च रक्तचाप र मधुमेह जस्ता समस्या भएका बिरामीहरूको अवस्था अनुगमन गर्नुका साथै सरसफाइ र खानपानका बारेमा पनि सचेत गराउने कार्य भइरहेको सार्कीले जानकारी दिए ।
अस्पतालसम्म पुग्न कठिन हुने नागरिकहरूका लागि यो सेवा वरदान सावित भएको छ । टीकापुर-२ विजयनगरका मासुलाल चौधरीले घरमै औषधि पाएपछि आफूलाई निकै सजिलो भएको अनुभव सुनाए । शारीरिक कमजोरीका कारण अस्पतालको लाइनमा बस्न नसक्दा बीचमै औषधि खान छोडेका उनलाई स्वास्थ्यकर्मीले घरमै पुगेर सेवा दिएपछि राहत मिलेको छ । त्यस्तै, क्षयरोगको उपचार गराइरहेका पुनसराम चौधरीले पनि स्वास्थ्यकर्मीबाट घरमै सल्लाह र जाँच पाएकोमा खुसी व्यक्त गरे ।
स्वास्थ्यकर्मी लक्ष्मी नारायण पोख्रेलका अनुसार यो सेवाले बिरामीको समय र पैसा मात्र जोगाएको छैन, उनीहरूले राज्यबाट सम्मानित महसुस गर्ने अवसर पनि पाएका छन् । बिरामीको उचित स्याहार कसरी गर्ने भन्नेबारे परिवारका सदस्यहरूलाई समेत परामर्श दिइने भएकाले यसबाट दीर्घकालीन सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
नगरपालिकाले यो कार्यक्रमलाई व्यवस्थित बनाउन कार्यविधि नै तयार पारेर निरन्तरता दिने योजना बनाएको छ । (रासस)



