काठमाडौँ । मुलुकभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभाव देखिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै कारण अहिले देशभरको आकाश बादलले ढाकेको छ ।
आज दिउँसो पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने देखिन्छ भने अन्य स्थानमा आंशिक बादल लाग्नेछ । विशेषगरी पहाड र हिमालका केही ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थान र बाँकी तराईका थोरै ठाउँमा हावाहुरीसहित हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ । मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भेगमा भने तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
रातिको समयमा हिमाली भेगमा बादल लागे पनि तराईमा भने मौसम सामान्यतया सफा रहनेछ ।
कोशी, गण्डकी र कर्णालीका हिमाली क्षेत्रका थोरै स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिमका उच्च पहाडी भागमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै छ । कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा राति पनि हावाहुरी चल्न सक्ने देखिएको छ ।



