काठमाडौँ । प्रतिनिधि सभाको नयाँ नेतृत्वका लागि भएको प्रक्रियामा डोलप्रसाद अर्याल (डिपी अर्याल) निर्विरोध रूपमा सभामुख पदमा चयन भएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्याललाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित भएसँगै उनी यस गरिमामय पदमा आसिन भएका हुन् । यसअघि शुक्रबार भएको मनोनयन दर्तामा अर्यालको मात्र एकल उम्मेदवारी परेपछि उनी निर्विरोध हुने निश्चित भइसकेको थियो ।
अर्यालको उम्मेदवारीको प्रस्तावकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रहेका थिए भने समर्थकहरूमा स्वर्णिम वाग्ले , सोविता गौतम र सुनिल लम्साल रहेका थिए । संसदको यो निर्णयसँगै अर्यालले आजै कार्यभार सम्हाल्ने तयारी गरेका छन् ।
नवनिर्वाचित सभामुख अर्यालको शपथ ग्रहण समारोह आज दिउँसो २:३० बजेका लागि तय गरिएको छ । उनले राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।



