चितवन । लेयर्स कुखुरा पालन गर्ने किसानहरूको छाता संगठनले अण्डाको बजार दरमा केही वृद्धि गर्ने निर्णय गरेको छ ।
नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार देशभरका लागि लागू हुने गरी अण्डाको नयाँ समर्थन बिक्री मूल्य सार्वजनिक गरिएको हो । नयाँ दररेट अनुसार अब उपभोक्ता र व्यापारीले अण्डाको प्रत्येक क्रेटमा १५ रुपैयाँ बढी तिर्नुपर्नेछ । संघले तय गरेको नयाँ सूचीमा ‘एक्सेल’ अण्डाको फार्म मूल्य प्रति क्रेट ४७५ रुपैयाँ पुर्याइएको छ । यसैगरी ठूलो अण्डाको ४५० रुपैयाँ र मिडियम अण्डाको मूल्य प्रति क्रेट ४०० रुपैयाँ कायम गरिएको छ ।
चैत १६ गतेको पुरानो दरलाई विस्थापित गर्दै आजैका मितिदेखि यो नयाँ मूल्य कार्यान्वयनमा आएको हो । चितवनलाई मुख्य केन्द्र मानेर देशभरका लागि यो सन्दर्भ मूल्य तोकिएको संघले स्पष्ट पारेको छ ।
ढुवानीको सन्दर्भमा संघले थप जानकारी दिँदै चितवनबाट विभिन्न डिपोहरूसम्म अण्डा पुर्याउँदा लाग्ने ढुवानी खर्च, कार्टुन र क्रेटको लागत गरी प्रति क्रेट थप १४५ रुपैयाँ लाग्ने जनाएको छ ।
उत्पादन लागत र बजारको वर्तमान स्थितिलाई विश्लेषण गरेरै यो मूल्य समायोजन गरिएको दाबी गर्दै संघले सबै सरोकारवालालाई नयाँ दररेट पालना गर्न आग्रह गरेको छ ।



