काठमाडौँ । प्रहरीले राजधानीमा गुण्डागर्दी विरुद्ध विशेष अपरेसन चलाउँदै कुख्यात मानिने ‘सानुभाइ’ भनिने युवराज गुरुङसहित १८ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शुक्रबार राति सामाखुसी र अन्य विभिन्न क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका गुरुङ यसअघि प्रहरी मुठभेडमा मारिएका कुमार श्रेष्ठ ‘घैँटे’ का मुख्य सहयोगी हुन् । घैँटेको मृत्युपछि सुरक्षाका लागि बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्ने गरेका गुरुङ आठौँ पटक प्रहरीको फन्दामा परेका हुन् । हाल उनी कारागारमा रहेका समीरमान सिंह बस्नेत समूहसँग निकट रहेर आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीको दाबी छ ।
नुवाकोटको ककनी घर भई टोखा बस्दै आएका ३३ वर्षीय गुरुङसँगै प्रहरीले काठमाडौँका विभिन्न स्थानमा सक्रिय अन्य १७ जनालाई पनि समातेको छ । पक्राउ पर्नेहरूमा बौद्ध क्षेत्रमा गुण्डागर्दी गर्ने प्रविण तामाङ (डिम्पल), कलंकी र बाफल क्षेत्रमा सक्रिय बिर्जु महर्जन र सुजन कार्की, तथा स्यूचाटार क्षेत्रका सरु गुमागाइ लगायत रहेका छन् ।
उनीहरूमाथि व्यवसायीलाई धम्क्याउने, असुली गर्ने र झगडा गर्ने गरेको आरोप छ । प्रहरीले यस अपरेसनमार्फत उपत्यकाको सुरक्षा व्यवस्थालाई थप कडा बनाउने लक्ष्य राखेको छ ।



