काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले वित्तीय अनियमितताको आरोपमा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई आज नियन्त्रणमा लिएको छ ।
जगदम्बा होल्डिङ्सका अध्यक्ष समेत रहेका सुलभलाई विभागले आइतबार बिहान पक्राउ गरेको हो । यसअघि शुक्रबार साँझ सोही समूहका अध्यक्ष एवं सुलभका पिता शंकरलाल अग्रवाललाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएका शंकास्पद आर्थिक लेनदेनको विषयमा सुक्ष्म अनुसन्धान गर्न बुवा-छोरा दुवैलाई हिरासतमा लिइएको बताइएको छ ।
यस प्रकरणमा बिहीबार मात्रै अर्का व्यवसायी दीपक भट्टलाई पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट नियन्त्रणमा लिएको थियो । हाल सुलभ अग्रवाललाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ ।
नेपाल राष्ट्र बैंकले साढे दुई वर्षअघि नै यी दुई समूहबीच भएका करोडौँको वित्तीय कारोबारमा कैफियत देखिएको भन्दै अनुसन्धानका लागि विभागलाई पत्राचार गरेको थियो । विभागले २०७९ पुसमा भट्टसँग बयान लिए तापनि गत वैशाखमा पर्याप्त प्रमाण नपुगेको भन्दै उजुरी फिर्ता गरेको थियो, जुन अहिले पुनः सक्रिय भएको छ ।



