काठमाडौँ । संघीय संसद्को तल्लो सदनले आज नयाँ उपसभामुख चयन गर्दैछ । प्रतिनिधि सभाको आज दिउँसो ४ बजे बस्ने बैठकमा उपसभामुख चयनका लागि मतदान हुने कार्यसूची सार्वजनिक गरिएको छ ।
यस पदका लागि श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामाबीच प्रतिस्पर्धा हुँदैछ ।
श्रम संस्कृति पार्टीकी उम्मेदवार ठाकुरको प्रस्तावकमा सोही पार्टीका सांसद आरेन राई हुनुहुन्छ भने समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोक कुमार चौधरी र श्रम संस्कृति पार्टीकी सांसद अम्बिका देवी संग्रौला रहनुभएको छ । अर्कोतर्फ, राप्रपाकी उम्मेदवार लामाको प्रस्तावकमा सांसद ज्ञानेन्द्र शाही र समर्थकहरूमा ताहिर अलि भाट, खुस्बु ओली तथा भारत गिरी रहनुभएको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा सत्ता साझेदार दल रास्वपाले श्रम संस्कृति पार्टीकी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेसँगै समीकरणमा फेरबदल आएको छ । ठाकुरलाई सत्तापक्षका साथै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपाले समेत समर्थन जनाएका छन् ।
संसद्का ठूला दलहरूको साझा समर्थन रहेका कारण रुबी कुमारी ठाकुर उपसभामुख पदमा निर्वाचित हुने करिब निश्चित देखिएको छ



