काठमाडौँ । शिक्षा मन्त्रालयले जेनजी आन्दोलनकी घाइते एकता शाहलाई एमबिबीएस अध्ययनका लागि दिइएको छात्रवृत्ति प्रचलित ऐन र नियमसम्मत रहेको स्पष्ट पारेको छ ।
चिकित्सा शिक्षा आयोगको नियम अनुसार छात्रवृत्ति ‘मेरिट’ का आधारमा मात्र वितरण हुनुपर्नेमा शाहलाई नियम मिचेर कोटा दिएको भन्दै आलोचना भएपछि मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
मन्त्रालयका अनुसार शाहलाई दिइएको यो अवसर राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अन्तर्गतको नियमित छात्रवृत्ति कोटाबाट नभई सरकारले बजेट व्यवस्थापन गरी सिर्जना गरेको ‘विशेष अतिरिक्त कोटा’ अन्तर्गत पर्दछ । यस निर्णयले कानुन बमोजिम अन्य विद्यार्थीहरूले पाउने सिट वा अवसरमा कुनै पनि असर नपार्ने मन्त्रालयले दाबी गरेको छ । जेनजी आन्दोलनका घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूलाई राहत दिने सम्बन्धी कार्यविधि, २०८२ को दफा ११ को प्रावधान र चिकित्सा शिक्षा आयोगको अनुरोधमा आधारित रहेर नै मन्त्रिपरिषद्ले यो निर्णय लिएको हो ।
उल्लेखनीय छ कि, शैक्षिक वर्ष २०८२/८३ को एमबिबीएस प्रवेश परीक्षामा शाहले ५७.५ प्रतिशत अङ्क ल्याएर उत्तीर्ण भएकी थिइन् । यही चैत १ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई विशेष कोटामा चिकित्सा शिक्षा अध्ययन गराउने निर्णय गरेको थियो ।




