काठमाडौँ । नेपाल चिकित्सक संघले पर्याप्त जनशक्ति व्यवस्थापन नगरी आइतबारको सार्वजनिक बिदामा ओपीडी सेवा सञ्चालन गर्न नसकिने अडान लिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णयका बाबजुद आइतबार पनि अस्पतालका ओपीडी सेवा सुचारु राख्न निर्देशन दिएपछि संघले यस्तो प्रतिक्रिया जनाएको हो ।
चिकित्सकहरूले पहिले नै नियमित समयभन्दा बढी ड्युटी गरिरहेको अवस्थामा थप कार्यभार थोपर्दा सेवाको गुणस्तर खस्कने संघको तर्क छ । मन्त्रालयले आइतबार काम गर्ने कर्मचारीलाई सट्टा बिदा वा अन्य व्यवस्था गर्न निर्देशन दिए तापनि विगतका कानुनी जटिलताका कारण सट्टा बिदाको अवधारणा व्यवहारिक नभएको संघले विज्ञप्ति मार्फत स्पष्ट पारेको छ ।
साथै, फरक-फरक अस्पतालमा फरक दिन बिदा हुँदा बिरामीहरूमा अन्योल बढ्ने र इन्धन जोगाउने सरकारको लक्ष्य विपरीत अस्पतालहरू सञ्चालन गर्दा थप खर्च बढ्ने दाबी संघको छ । सरकारले आफ्नो निर्णय पुनर्विचार नगरे आन्दोलनमा उत्रिने चेतावनी समेत चिकित्सक संघले दिएको छ ।



