काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार र प्रधानमन्त्रीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाउनुभएको छ ।
शनिबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति जबाफदेही हुन नसकेको आरोप लगाउनुभयो । जननिर्वाचित संसद्मा प्रधानमन्त्रीले मौनता सााध्नु स्वेच्छाचारी शासनको संकेत भएको टिप्पणी गर्दै उहाँले सार्वभौम संसद्को अपमान भइरहेको बताउनुभयो ।
महासचिव पोखरेलले नेकपा एमाले र यसको नेतृत्वलाई भ्रष्टाचारको आरोप लगाएर नियोजित रूपमा भ्रम फैलाउने काम भइरहेको दाबी गर्नुभयो । पुराना दल र नेताहरूप्रति अविश्वास जगाएर नयाँ शक्तिहरूले सुशासनको गलत भाष्य निर्माण गर्न खोजेको उहाँको तर्क थियो । सुशासनको नारा दिएर सत्तामा पुगेकाहरूले नै पारदर्शिता अपनाउन नसकेको भन्दै उहाँले अहिलेका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न आलटाल गरिरहेको तर्फ ध्यानाकर्षण गराउनुभयो ।
यसैगरी, महासचिव पोखरेलले प्रतिनिधि सभाका सभामुखको सम्पत्ति विवरणमाथि समेत संशय व्यक्त गर्नुभएको छ । सार्वजनिक गरिएको सम्पत्ति विवरण पत्याउन मुस्किल रहेको भन्दै उहाँले लोकतन्त्रका आधारस्तम्भहरूमाथि प्रहार भइरहेको बताउनुभयो । मुलुकलाई राजनीतिक द्वन्द्वबाट जोगाउन खोज्ने शक्तिहरूलाई कमजोर बनाउने खेल भइरहेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।



