काठमाडौँ । नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक भ्रमणको निमन्त्रणा पठाएका छन् ।
पदभार ग्रहण गरेलगत्तै मोदीले पठाएको बधाई सन्देशमा नै भारत भ्रमणको प्रस्ताव समेत समावेश गरिएको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी दिएका हुन् ।
मौरिससमा भारतीय सञ्चारमाध्यम ‘वीअन’ सँग कुरा गर्दै मन्त्री खनालले प्रधानमन्त्री शाहले उक्त निमन्त्रणा स्वीकार गरिसकेको बताएका छन् । यद्यपि , यस भ्रमणको निश्चित मिति भने अझै तय भइसकेको छैन । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणका लागि आवश्यक आन्तरिक तयारी र गृहकार्य भइरहे पनि मिति घोषणा गर्न केही समय लाग्ने देखिएको छ ।
मन्त्री खनाल मौरिसस सरकार , भारतीय विदेश मन्त्रालय र इन्डिया फाउन्डेसनद्वारा आयोजित नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका थिए । शनिबार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए ।



