काठमाडौँ । नयाँ वर्ष केवल भित्तेपात्रो फेरिने दिन मात्र होइन, यो त नयाँ संकल्प र सपना बुन्ने विशेष अवसर पनि हो ।
विक्रम संवत् २०८३ को सुखद आगमनसँगै खप्तड मिडिया नेपालका समस्त पाठक, दर्शक र देश–विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । मुलुकमा भर्खरै भएको नयाँ सरकारको गठन र राजनीतिक सत्ता समीकरणको फेरबदलले आम जनतामा आशाको एउटा नयाँ किरण सञ्चार गरेको छ ।
मुलुकको समृद्धिको बाटोमा अहिलेको सबैभन्दा ठूलो चुनौती युवा पलायन हो । वर्षेनी लाखौँको संख्यामा दक्ष जनशक्ति रोजगारी र अवसरको खोजीमा बिदेसिनु राष्ट्रका लागि गम्भीर क्षति हो । नयाँ वर्षमा नयाँ सरकारले केवल आश्वासन मात्र होइन , युवाहरूलाई स्वदेशमै भविष्य देख्न सक्ने गरी ठोस योजना र उद्यमी मैत्री वातावरण निर्माण गर्नुपर्नेमा हामी विशेष जोड दिन चाहन्छौँ । हाम्रा गाउँ–बस्तीहरू रित्तिँदै जाने र विदेशी भूमिमा पसिना बगाउने बाध्यतालाई नरोकेसम्म समृद्धि शब्द केवल नारामा मात्र सीमित रहनेछ ।
त्यसैगरी, लामो समयदेखि शिथिल बनेको मुलुकको आर्थिक अवस्था सुधार्न सरकारले अब साहसिक र निर्णायक कदम चाल्नैपर्छ । साना तथा मझौला उद्योगलाई प्रोत्साहन, पर्यटन क्षेत्रको विस्तार र वैदेशिक लगानी भित्र्याउन नीतिगत सुधार अहिलेको अनिवार्य सर्त हो ।
डिजिटल रूपान्तरणको माध्यमबाट सरकारी सेवालाई झन्झटमुक्त बनाउँदै सुशासनको प्रत्याभूति दिनु अबको प्राथमिकता हुनुपर्छ । जबसम्म नागरिकले वडा कार्यालयदेखि मन्त्रालयसम्मका सेवाहरू घरमै बसेर पारदर्शी रूपमा पाउन सक्दैनन्, तबसम्म व्यवस्था परिवर्तनको अर्थ रहँदैन । संघीयताको मर्म अनुसार स्थानीय सरकारलाई थप उत्तरदायी बनाउँदै स्थानीय विकासमा केन्द्रित हुनु नै २०८३ सालको सफल यात्रा हुनेछ ।
परिवर्तन सरकारबाट मात्र सम्भव छैन, यसका लागि नागरिक खबरदारी र सचेतना पनि उत्तिकै आवश्यक छ । खप्तड मिडिया नेपाल सत्यको पक्षमा अडिग रहँदै, सरकारका कमी–कमजोरीलाई औंल्याउन र राम्रा कामको प्रशंसा गर्न कहिल्यै पछि हट्ने छैन । आउनुहोस् , यो नयाँ वर्षलाई हामी सबै मिलेर नेपालको सुखद भविष्य निर्माण गर्ने प्रस्थान बिन्दु बनाऔँ ।
नयाँ वर्ष २०८३ ले हामी सबैमा नयाँ ऊर्जा , एकता र प्रगतिको मार्ग प्रशस्त गरोस् । समस्त नेपालीमा पुनः एकपटक सुख , शान्ति र समृद्धिको हार्दिक शुभकामना ।



