काठमाडौँ । विश्वभरका मानिसहरूलाई स्वस्थ र सन्तुलित जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्यले आज पहिलो पटक अन्तर्राष्ट्रिय आरोग्य (वेलनेस) दिवस मनाइँदैछ ।
नेपालकै प्रस्तावमा संयुक्त राष्ट्रसङ्घले गत मार्च महिनामा हरेक वर्षको अप्रिल १५ लाई यो दिवसका रूपमा मनाउने निर्णय गरेसँगै आज देशैभर विभिन्न चेतनामूलक कार्यक्रमहरू तय गरिएका छन् ।
स्वास्थ्य भनेको शरीरमा रोग नहुनु मात्र नभई शारीरिक, मानसिक र सामाजिक रूपमा पूर्ण रूपमा स्वस्थ रहनु हो भन्ने सन्देश प्रवाह गर्न यो दिवसको सुरुवात गरिएको हो ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका अनुसार स्वस्थ बानी-व्यवहार र प्राकृतिक जीवन पद्धतिका बारेमा नागरिकलाई सुसूचित गर्न सङ्घ, प्रदेश र स्थानीय तीनै तहमा विशेष गतिविधिहरू सञ्चालन गरिँदैछन् । विशेषगरी आधुनिक जीवनशैलीका कारण निम्तिएका स्वास्थ्य समस्याहरूलाई कम गर्न र प्रकृतिसँगको सामीप्यता बढाउन यो दिवसले विश्व समुदायलाई नयाँ मार्गनिर्देश गर्ने अपेक्षा राखिएको छ ।



