काठमाडौँ । आगामी शैक्षिक सत्र २०८३ मा विद्यालयहरूले नेपाल सरकारद्वारा स्वीकृत पाठ्यपुस्तक र पाठ्यसामग्री मात्र प्रयोग गर्नुपर्ने भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक निर्देशन जारी गर्दै पाठ्यक्रम विकास केन्द्रले अनुमति दिएका र मापदण्डअनुसारका सामग्री मात्र लागू गर्न कडाइ गरेको हो । कतिपय निजी प्रकाशनहरूले स्वीकृति नलिई, गुणस्तरहीन कागज प्रयोग गरेर बढी मूल्यमा पुस्तक बेचेको गुनासो आएपछि केन्द्रले यस्तो कदम चालेको हो ।
यस्ता गतिविधिले अभिभावकमाथि आर्थिक भार थपेको भन्दै केन्द्रले विद्यालय हाताभित्रैबाट पोसाक र स्टेशनरी बिक्री गर्ने कार्यलाई समेत कानुनविपरीत ठहर गरेको छ ।
अब स्थानीय तहहरूसँगको समन्वयमा विद्यालयहरूको अनुगमन गरिने र दोषी पाइएमा कारबाहीको प्रक्रिया अगाडि बढाइने केन्द्रले जनाएको छ ।



