काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को साङ्गठनिक संरचनामा हेरफेर गर्दै महामन्त्री पदमा भूपदेव शाहलाई जिम्मेवारी दिइएको छ ।
सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले अछाम स्थायी ठेगाना भएका शाहलाई सो पदमा मनोनीत गर्ने निर्णय गरेको हो । यसअघि नै कविन्द्र बुर्लाकोटी र सुनील लम्साल महामन्त्रीको भूमिकामा रहँदै आएकोमा अब शाहको आगमनसँगै पार्टीमा तीन जना महामन्त्री भएका छन् ।
बैठकले साङ्गठनिक विस्तारका क्रममा अन्य महत्त्वपूर्ण नियुक्तिहरू पनि गरेको प्रवक्ता मनिष झाले बताए । जसअनुसार पार्टीको सचिवालय सदस्यमा सागर ढकाल र सरिताश्री ज्ञवालीलाई चयन गरिएको छ । यसैगरी केन्द्रीय सल्लाहकार परिषद्को कार्यक्षेत्र विस्तार गर्दै काभ्रेकी जीवन प्रभा लामा, नवलपरासी पूर्वका मोतीप्रसाद पङ्गाली, भक्तपुरका हरिप्रसाद पाण्डे र कपिलवस्तुका विष्णुहरि शर्मालाई सदस्यमा मनोनीत गरिएको छ । सङ्घीय नेतृत्व मञ्चमा पनि विभिन्न जिल्लाका ६ जना नयाँ अनुहारलाई स्थान दिइएको प्रवक्ता झाले जानकारी दिए ।
पार्टीले साङ्गठनिक पदपूर्तिसँगै आर्थिक नियमावलीमा पनि केही परिमार्जन गरेको छ । अबदेखि रास्वपाका सांसदहरूले पार्टीलाई बुझाउनुपर्ने लेबी मासिक १५ हजार रुपैयाँ कायम गरिएको छ, जुन यसअघि १६ हजार ५०० रुपैयाँ थियो । मन्त्रीहरूको हकमा १८ हजार र स्वकीय सचिवहरूको २ हजार रुपैयाँ लेबीलाई भने यथावत राखिएको बैठकपछि जानकारी दिइयो ।



