काठमाडौँ । ओखलढुङ्गाको एक विद्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेलले देखाएको व्यवहारलाई लिएर सामाजिक सञ्जालमा यतिबेला चर्को आलोचना भइरहेको छ ।
विद्यालयको गेटमा स्वागत गर्न प्रधानाध्यापक नआएको भन्दै उनले ‘खेद प्रस्ताव’ पारित गरे मात्र विद्यालय छिर्ने अडान राखेको भिडियो सार्वजनिक भएपछि यो विषय विवादित बनेको हो । यसै घटनालाई लिएर सांसद महावीर पुनले कडा शब्दमा आपत्ति जनाएका छन् ।
पुनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै सांसद भनेको जनताको नोकर भएको स्मरण गराएका छन् । उनले यदि आफू सम्बन्धित पार्टीको नेता भएको भए यस्तो रवाफ देखाउने सांसदलाई तत्कालै पदबाट बर्खास्त गर्ने समेत बताएका छन् । ५ वर्षसम्म जनताको सेवामा समर्पित हुनुपर्ने व्यक्तिले स्वागत नपाएको निहुँमा विद्यालय प्रशासनलाई दबाब दिनु पदकै अपमान भएको पुनको तर्क छ ।
पुनले सांसद पोखरेललाई तुरुन्त माफी माग्न वा जनताले उनलाई फिर्ता बोलाउनुपर्ने माग समेत राखेका छन् । विद्यालय पुग्दा गेटमा स्वागत नगरेको विषयलाई लिएर सांसदले देखाएको यो शैलीले जनप्रतिनिधिको गरिमा घटाएको भन्दै सर्वसाधारणले पनि विरोध जनाइरहेका छन् । हालसम्म यस विषयमा रास्वपाले भने कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।



