काठमाडौँ । मुलुकको पूर्वी क्षेत्र नजिक बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी र स्थानीय वायूको संयुक्त प्रभावले गर्दा हाल देशको मौसमी प्रणालीमा परिवर्तन देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशसहित देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा अहिले बदलीको अवस्था छ । मधेश प्रदेशमा हल्का बादल लागेको भए तापनि बाँकी तराईका भू-भागमा भने मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ । यतिबेला कोशी र बागमती प्रदेशका केही सीमित स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी तथा हिमाली भेगमा सामान्य बदली रहने देखिन्छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूका साथै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । यसैगरी बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका एक-दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भने आज अत्यधिक गर्मी (तातो दिन) हुने सम्भावना छ ।
रातिको समयमा पनि देशभरको मौसममा साधारणतया बदली नै रहनेछ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको प्रक्षेपण गरिएको छ । यसका साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी क्षेत्र र बाँकी तराईका केही स्थानहरूमा आज राति तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

