विराटनगर । कोशी प्रदेश व्यवस्थापिकाको नवौं अधिवेशनको औपचारिक सुरुवात आजदेखि हुँदैछ ।
प्रदेश सभा सचिवालयले दिएको जानकारी अनुसार उक्त हिउँदे अधिवेशन आज अपराह्न ३ बजे विराटनगर महानगरपालिका–७ मा रहेको वीरेन्द्र सभा गृहमा आह्वान गरिएको छ ।
जेनजी आन्दोलनका क्रममा विराटनगरस्थित प्रदेश सभाको आफ्नै मौलिक भवन आगजनीका कारण पूर्ण रूपमा क्षति भएपछि विगत केही समयदेखि बैठकहरू वैकल्पिक स्थानमा बस्दै आएका छन् । सोही कारण यसपटकको अधिवेशन पनि वीरेन्द्र सभा गृहबाटै अगाडि बढाउने निर्णय भएको हो । यसअघिको आठौँ अधिवेशनका बैठकहरू समेत यही सभा गृहमा सफलतापूर्वक सञ्चालन गरिएका थिए ।
यसैबीच, कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम भोलि बिहीबार जेठ ७ गतेकै बैठकमा टेबुल गर्ने सम्पूर्ण तयारी पुरा गरेको छ । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार प्रदेशको विकास र प्रशासनिक मार्गचित्र समेटिएको उक्त नीति तथा कार्यक्रम प्रदेशसभा समक्ष प्रस्तुत गरिनेछ ।

