काठमाडौँ । मुलुकका विभिन्न क्षेत्रमा अहिले पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय प्रणालीको मिश्रित प्रभाव देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल गण्डकी प्रदेश सहित देशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने तराईका अन्य क्षेत्रको मौसम सफा रहेको छ । अहिले गण्डकीका धेरै ठाउँ तथा कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भेगमा साधारणतया बदली रहने अनुमान छ । लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रमा भने आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकीको हिमाली तथा पहाडी भेगका केही स्थानमा र मधेश प्रदेश लगायत अन्य पहाडी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । लुम्बिनीको तराई क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ । सुदूरपश्चिम र लुम्बिनीको तराईमा आज दिनभर गर्मी बढ्ने र मधेश, कोशी, बागमती तथा गण्डकीको तराई क्षेत्रमा हावाहुरी चल्ने विभागले जनाएको छ ।
यसैगरी आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग्ने देखिन्छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको पहाडी भागमा आंशिक बदली रहे पनि लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रको मौसम मुख्यतया सफा रहनेछ ।
रातिको समयमा कोशी र मधेश प्रदेशका केही स्थान र बागमती तथा गण्डकीका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही सीमित पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

