काठमाडौँ । प्रतिनिधि सभाको अवरोध हटाउने प्रयासस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री बालेन्द्र शाह एक हप्ताभित्र सदनमा उपस्थित हुने जानकारी गराएको छ ।
संसद्को गतिरोध अन्त्य गर्न सभामुख डोलप्रसाद अर्यालले बोलाउनुभएको दलका सचेतकहरूको बैठकमा रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । आफूले प्रधानमन्त्रीको सचिवालयसँग समन्वय गरेको उल्लेख गर्दै उहाँले सम्भावित समयसीमाबारे सभामुखमार्फत सदनलाई स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्रीले संसद्मा सांसदहरूले उठाएका विषयको जवाफ दिनुपर्ने अडान राख्दै प्रमुख प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) सहितका दलहरूले निरन्तर बैठक अवरुद्ध गर्दै आएका छन् । आजको बैठकमा समेत विपक्षी दलहरूबाट अवरोध भएपछि सभामुखले बैठक स्थगित गरी कार्यव्यवस्था परामर्श समिति र सचेतकहरूसँग संवाद अघि बढाउनुभएको थियो । छलफलका क्रममा रास्वपाले प्रधानमन्त्री आउने कुरामा आश्वस्त पारे पनि सदनमा बोल्ने क्रममा भने निश्चित मिति नतोकी एक हप्ताको समयसीमा मात्र उल्लेख गरेको छ ।
यसैबीच, विपक्षी दलहरूले रास्वपाका मुख्य सचेतक बुर्लाकोटीले व्यक्त गरेको प्रतिबद्धताअनुसार नै अगाडि बढ्न सभामुखसँग रुलिङको माग गरेका छन् । नेकपा एमालेले बैठकमा भएको आपसी सहमतिलाई सभामुखले पूर्ण रूपमा कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरेको छ । प्रतिपक्षी दलहरूले आफ्ना धारणा राखेपछि अहिले स्थगित भएको संसद् बैठक पुनः सुचारु भई सञ्चालन भइरहेको छ ।

