काठमाडौँ । प्रतिनिधि सभाका सदस्य वर्षमान पुनले संसद्मा सत्तापक्षको भूमिकाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।
बुधबार संसद् भवनबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै उनले सरकारले ल्याएका विषयवस्तुलाई बिनाबहस स्वीकार गरेर सत्तापक्षका सांसदहरू निरीह बनेको दाबी गरे ।
सांसद पुनले संसद्मा भइरहेका छलफलमा सत्तापक्षका प्रतिनिधिहरूको न्यून सहभागिताप्रति प्रश्न उठाउँदै यसको जवाफ उनीहरूले आफ्ना मतदातालाई दिनुपर्ने बताए । ‘सरकारले ल्याएका कुरालाई मात्रै स्विकार्ने हो र गहन छलफलमा भाग नलिने हो भने यति धेरै सांसदको आवश्यकता नै किन पर्यो ?’ उनले प्रश्न गरे ।
यसका साथै उनले संसद् अधिवेशन ढिलो आह्वान गरेर सरकारले सांसदहरूलाई बाध्यात्मक परिस्थिति (ट्र्याप) मा पार्न खोजेको आरोप समेत लगाए । सरकारको राजनीतिक र वैचारिक स्पष्टतामाथि प्रश्न उठाउँदै पुनले वर्तमान सरकारले आफ्नो वास्तविक गन्तव्य र धरातल के हो भन्ने कुरा स्पष्ट पार्नुपर्ने चुनौती दिए ।

