काठमाडौँ । नेपालको पूर्वी र मध्य क्षेत्रमा मनसुनी वायु सक्रिय भएसँगै देशका विभिन्न भागमा वर्षा र बदलीको अवस्था देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ । यस्तै, गण्डकी प्रदेशको केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा पनि मनसुन फैलिएको छ भने बाँकी भू-भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । अहिले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा बादल लागेको छ । कोशीका केही ठाउँ तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा अहिले मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ । सुदूरपश्चिमको तराई क्षेत्रमा भने मौसम सफा छ ।
आज दिउँसो देशका पहाडी तथा हिमाली क्षेत्र र कोशी प्रदेशको तराई भागमा साधारणतया बादल लाग्ने अनुमान छ । मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुने देखिन्छ । कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भेगका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा पनि एक-दुई स्थानमा पानी पर्ने सङ्केत छ । कोशी, मधेश, बागमती र गण्डकीका तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ । यद्यपि, लुम्बिनी र सुदूरपश्चिमको तराईमा तातो लहर (लू) चल्ने तथा बागमती र गण्डकीको तराईमा अत्यधिक गर्मी हुने विभागले जनाएको छ ।
आज राति पनि कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्र र कोशीको तराई भागमा बादल लाग्नेछ । अन्य प्रदेशका पहाडी क्षेत्र र मधेश प्रदेशमा आंशिक बदली हुने अनुमान छ । लुम्बिनी र सुदूरपश्चिमको तराईमा भने राति मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा राति पनि मेघगर्जनसहित पानी पर्ने वा हिमपात हुने सम्भावना छ । कोशी र मधेश प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा राति वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

