काठमाडौँ । मुलुकको पूर्वी र मध्य क्षेत्रमा मनसुनी वायु सक्रिय भइरहँदा सुदूरपश्चिम र लुम्बिनीका पश्चिमी तराई क्षेत्रमा भने अझै केही दिन अत्यधिक गर्मी कायम रहने भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्रमा मनसुनी वायुको प्रभाव छ । गण्डकीको केही र लुम्बिनीको पूर्वी भू-भागमा पनि यसको असर देखिएको छ । बाँकी क्षेत्रमा भने पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले आगामी ३-४ दिनभित्रमा मात्र देशैभर मनसुन विस्तार हुने अनुमान गरिएको छ । अहिले सुदूरपश्चिमको तराई क्षेत्रको मौसम सफा रहे पनि अन्य ठाउँमा आंशिक बदली भई कोशी, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो पहाडी र हिमाली क्षेत्रमा सामान्य तथा तराईमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र कर्णाली तथा सुदूरपश्चिमका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । तराईका केही भू-भागमा पनि हल्कादेखि मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ । यद्यपि, सुदूरपश्चिम र लुम्बिनीको पश्चिमी तराईका केही क्षेत्रमा आज पनि तातो लहर (लू) चल्ने सम्भावना छ ।
रातको समयमा देशभर सामान्य बादल लाग्ने र कोशी, बागमती, गण्डकीका पहाडी क्षेत्रमा मध्यम वर्षा वा हिमपात हुनसक्नेछ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ भने कोशी र मधेश प्रदेशका थोरै स्थानमा हावाहुरी चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

