काठमाडौँ । संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाको बैठक आज आह्वान गरिएको छ । संसद सचिवालयका अनुसार बिहान ११ बजेका लागि तय गरिएको यस बैठकमा महत्वपूर्ण विधेयकहरू र प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
आजको बैठकको सुरुवातमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम छ । त्यसपश्चात, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘महालेखा परीक्षकको ६३औं वार्षिक प्रतिवेदन’ सदनसमक्ष पेश गर्नेछन् । मन्त्री पुनले नै ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने र उक्त विधेयक सभामा पेश गर्ने कार्यसूची रहेको छ ।
बैठकमा विभिन्न मन्त्रालयका संशोधन विधेयकहरू पनि प्रस्तुत गरिँदैछन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ पेश गर्ने अनुमति माग्दै सदनमा प्रस्तुत गर्नेछन् । यस्तै, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।
आजको बैठकमा आर्थिक तथा वित्तीय विधेयकहरूमाथि पनि महत्वपूर्ण छलफल र निर्णय हुँदैछ । ‘आर्थिक विधेयक, २०८३’ माथि प्राप्त संशोधनहरूसहित छलफल गरिनेछ र त्यसलाई निर्णयार्थ प्रस्तुत गरिएपछि अर्थमन्त्री डा. वाग्लेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नेछन् । साथै, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ माथिको दफावार छलफल सदनमा चलाउन र प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरी विधेयक पारित गर्ने प्रस्ताव पनि आजै अर्थमन्त्रीले पेश गर्ने संसद सचिवालयले जनाएको छ ।
बैठकको अन्त्यमा, सभामुखले प्रतिनिधि सभाका पूर्व सदस्य राजेन्द्र खरेलको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

