काठमाडौँ । मुलुकका पूर्वी र मध्य भेगमा मनसुनी वायु पूर्ण रूपमा सक्रिय भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्रका साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भागमा अहिले मनसुनको प्रभाव रहेको छ । बाँकी रहेका क्षेत्रहरूमा भने पश्चिमी र स्थानीय वायुको आंशिक असर देखिएको छ । विभागले कर्णाली र सुदूरपश्चिम सहित गण्डकी र लुम्बिनीका बाँकी हिस्सामा आगामी ४–५ दिनभित्र मनसुन विस्तार हुने अनुमान गरेको छ ।
अहिले देशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ भने तराईका भू–भागमा आंशिक बदली छ । सुदूरपश्चिम र कर्णालीका तराई क्षेत्रमा भने मौसम सफा रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । मधेश र कोशीको तराई तथा बागमती, गण्डकी र लुम्बिनीको तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने देखिन्छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थानमा भने तातो हावाको लहर (लू) चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ ।
आज राति पनि कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना कायमै रहनेछ । विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले विभागले आवश्यक पूर्वतयारी र सतर्कताका लागि अनुरोध गरेको छ ।

