काठमाडौँ । गायक दुर्गेश थापा र बबिना किरातीको पछिल्लो गीत ‘मास्टर्नी’ लाई लिएर शिक्षण क्षेत्र आन्दोलित बनेको छ ।
गीतमा समावेश गरिएका शब्द र दृश्यहरूले शिक्षक पेसाको मर्यादामा आँच पुर्याएको भन्दै चौतर्फी आलोचना सुरु भएको हो ।
यस विषयमा नेपाल शिक्षक महासंघले औपचारिक रूपमै आफ्नो गम्भीर आपत्ति प्रकट गरेको छ । अभिनेत्री प्रियंका कार्की, दुर्गेश थापा, आर्यन सिग्देल र आयुष्मान जोशी फिचर्ड यस गीतले सम्पूर्ण शिक्षण क्षेत्रकै खिल्ली उडाएको महासंघको ठहर छ । महासंघले एक विज्ञप्ति जारी गर्दै उक्त गीतको प्रसारण तत्काल रोक्न चेतावनी समेत दिएको छ ।
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा शिक्षिकाहरूलाई लक्षित गरी प्रयोग गरिएका अमर्यादित शब्द र प्रस्तुतीकरणले शैक्षिक जगतको गरिमामाथि प्रहार गरेको उल्लेख छ ।
महासंघले उक्त गीतलाई युट्युब लगायतका माध्यमबाट हटाउन र कुनै पनि चलचित्रमा प्रयोग नगर्न जोडदार माग गरेको छ । यदि यो मागलाई बेवास्ता गरी गीतको प्रसारण जारी राखेमा उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवारी निर्माता र कलाकारहरूले लिनुपर्ने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ ।

