काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी प्रणाली सक्रिय रहेको जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको छ ।
अहिले देशका हिमाली र पहाडी भेगमा साधारणतया बदली हुनुका साथै तराईका क्षेत्रमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली र तराईमा आंशिक बदली रहनेछ । हिमाली र पहाडी भेगका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ । त्यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानका साथै कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भाग र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
आज राति देशभर साधारणतया बदली रहने अनुमान छ । हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

