काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहँदा आगामी २४ घण्टाभित्र पहाडी तथा हिमाली भू-भागका साथै तराईका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमै अवस्थित रहेकाले देशका अधिकांश भागमा बदली र वर्षाको क्रम जारी छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका साथै कोशी र बागमतीका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ । यस्तै मधेश र कोशीका तराई क्षेत्रमा आंशिक बदली रहेको छ । अहिले बागमती र गण्डकीका केही स्थानहरूका साथै अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहने अनुमान गरिएको छ । हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, पहाडी क्षेत्रका धेरैजसो स्थानमा र बागमती, गण्डकी, कोशी एवं लुम्बिनीका तराई क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । विशेषगरी बागमती र गण्डकीका पहाडी र तराई भू-भागका साथै कोशी र लुम्बिनीका पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज रातिको समयमा पनि देशभर मौसम बदली नै रहनेछ । कोशी, बागमती र गण्डकीका हिमाली भेगका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । त्यसैगरी, देशका विभिन्न प्रदेशका पहाडी तथा तराई भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुनसक्नेछ । बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भने रातिको समयमा पनि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

