काठमाडौँ । मनसुनी वायुको सक्रिय प्रभावका कारण देशका विभिन्न भू-भागमा आज हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसम सामान्यतया बदली रहेको छ ।
हाल बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । आज दिउँसो पनि देशका अधिकांश स्थानमा बादल लाग्ने महाशाखाले जनाएको छ । यस क्रममा हिमाली क्षेत्रका केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भू-भागका धेरै स्थानमा मध्यम वर्षा हुनसक्छ ।
त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी क्षेत्र र लुम्बिनीका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति पनि देशभरको मौसम बदली नै रहनेछ । हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना कायम रहनेछ भने कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ ।
मधेश, कर्णाली र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाका साथै कोशी, गण्डकी, सुदूरपश्चिम र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

