काठमाडौँ । पाकिस्तानको ब्रोड पिक हिमालमा गएको विनाशकारी हिमपहिरोमा परेर ज्यान गुमाएका चर्चित कीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्सदाइ’ को शव भेटिएको छ ।
पाकिस्तान अल्पाइन क्लब (एसीपी) का अनुसार ब्रोड पिकको करिब ५,७०० मिटर उचाइमा उद्धार टोलीले निम्सदाइको शव फेला पारेको हो । सोही स्थानमा अन्य तीन जना आरोहीको शव पनि भेटिएको एसीपीले पुष्टि गरेको छ । उद्धार टोलीले फेला परेका शवहरूलाई जापानी क्याम्पतर्फ ल्याउने कार्य जारी राखेको छ । यद्यपि, निम्सदाइबाहेक अन्य तीन वटा शवको भने अझै पहिचान हुन सकेको छैन ।
गत बिहीबार बिहान ब्रोड पिकमा गएको हिमपहिरोमा ६ जना नेपाली आरोहीसहित १० जनाको टोली बेपत्ता भएको थियो ।
यसअघि शनिबार आरोहण आयोजक कम्पनी एलिट एक्सपेडिसनले सो क्षेत्रमा हिमपहिरोमा परेका सबै आरोहीहरूको मृत्यु भएको आधिकारिक पुष्टि गरेको थियो ।

