काठमाडौँ । जनैपूर्णिमाका अवसरमा देशका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरूमा यात्रा गर्ने तयारीमा हुनुहुन्छ भने मौसमको पूर्वसूचना लिएर मात्र निस्कनुहोला ।
जल तथा मौसम विज्ञान विभागले आज विशेष मौसम पूर्वानुमान जारी गर्दै विभिन्न तीर्थस्थल र पर्यटकीय क्षेत्रमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार उच्च हिमाली धार्मिक क्षेत्र रसुवाको गोसाइँकुण्ड र सिन्धुपाल्चोकको पाँचपोखरीमा आज दिउँसो अपराह्नपछि धेरैजसो स्थानमा मध्यम वर्षा हुनेछ । यी दुवै क्षेत्रमा रातिको समयमा मध्यमका साथै एक-दुई स्थानमा भारी वर्षाको समेत जोखिम रहेकाले विशेष सतर्कता अपनाउन भनिएको छ ।
त्यस्तै, दोलखाको जटापोखरी क्षेत्रमा पनि आज र भोलि (शनिबार) मध्यमदेखि भारी वर्षाको सम्भावना कायमै रहने पूर्वानुमान छ । बाजुराको बडीमालिका, काठमाडौँको मणिचूड दह, जुम्लाको दानसाँघु, नवलपरासीको त्रिवेणीधाम, दोलखाको शैलुङ, धनुषाको जनकपुरधाम र ललितपुरको कुम्भेश्वर मन्दिर क्षेत्रमा शुक्रबार र शनिबार हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ ।
विशेष गरी गोसाइँकुण्ड, पाँचपोखरी र जटापोखरी जाने पदयात्री तथा भक्तजनहरूलाई बाढी, पहिरो र चिप्लो बाटोको जोखिमलाई ध्यानमा राखी सतर्क रहन विभागले आग्रह गरेको छ ।

