काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभर मनसुनी वायुको प्रत्यक्ष प्रभाव कायम छ । मनसुनको न्यून चापीय रेखा औसत स्थान आसपासमै अवस्थित रहेकाले मुलुकका विभिन्न भूभागमा बदली र वर्षाको गतिविधि सक्रिय बनेको हो ।
हाल देशभरको आकाश सामान्यतया बादलले ढाकेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
दिउँसोको समयमा देशभर बदली रहने अनुमान छ । हिमाली भेगका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना औँल्याइएको छ । यसैगरी पहाडी भेगका धेरैजसो ठाउँका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा पनि चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका एक-दुई स्थानमा भने भारी वर्षाको जोखिम रहेको छ । यस्तै, कोशीको तराई र मधेस प्रदेशका केही भूभागमा तीव्र हावाहुरी चल्नसक्ने पूर्वानुमान छ ।
रातिको समयमा हिमाली तथा पहाडी भूभागमा सामान्य बदली कायमै रहनेछ । कोशी र सुदूरपश्चिमका तराईमा सामान्य तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली हुनेछ । हिमाली र पहाडी भेगका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्छ । कोशी र लुम्बिनीका तराई क्षेत्रका केही ठाउँ तथा बागमती, गण्डकी, सुदूरपश्चिम र मधेस प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ ।

