काठमाडौँ । हिन्दू धर्मावलम्बीहरूले आज देशभर धार्मिक श्रद्धाका साथ कल्की जयन्ती मनाउँदै छन् । वैदिक सनातन परम्परा अनुसार हरेक वर्ष श्रावण शुक्ल सप्तमीका दिन यो पर्व मनाउने गरिन्छ ।
शास्त्रहरूका अनुसार कल्कीलाई भगवान् विष्णुको दशौँ तथा भावी अवतारका रूपमा पूजा-आजा गरिन्छ । धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार कलियुगको अन्तिम समयमा जब संसारभर अधर्म, हिंसा, अत्याचार र लुटपाट चरम सीमामा पुग्नेछ, तब दुष्टहरूको विनाश गरी धर्मको पुनरुत्थान गर्न कल्की अवतारको प्राकट्य हुनेछ । पण्डित बालमुकुन्द देवकोटाका अनुसार कल्की अवतारले पापी र अधर्मीहरूको अन्त्य गरेसँगै कलियुगको समाप्त भई पुनः सत्य युगको सुरुवात हुने धार्मिक मान्यता रहेको छ ।
विभिन्न पुराणहरूमा वर्णन गरिएअनुसार सम्भल नाम गरेको गाउँमा विष्णुयश नामका एक श्रेष्ठ ब्राह्मणको घरमा कल्की भगवान्को जन्म हुनेछ । उहाँले देवदत्त नामको सेतो घोडामा सवार भएर हातमा खड्ग (तलवार) लिई दुष्टहरूको संहार गर्नुहुने विश्वास गरिन्छ ।
कल्की भगवान्को प्रसङ्ग मुख्यगरी कल्की पुराण र अग्नि पुराण लगायतका धार्मिक ग्रन्थहरूमा विस्तारमा उल्लेख गरिएको छ ।

